मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुली पार्टी परित्याग गरी पुनः कांग्रेसमा फर्किएका छन्।
सोमबार सर्लाहीमा आयोजित कार्यक्रममा सभापति गगनकुमार थापाले पराजुलीलाई औपचारिक रूपमा कांग्रेसमा स्वागत गरेका हुन्। रास्वपा प्रवेश गर्नुअघि कांग्रेसमै सक्रिय रहेका पराजुली पुनः आफ्नै पुरानो पार्टीमा फर्किएका हुन्।
पराजुली २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए। मकवानपुरको मनहरी गाउँपालिकाका स्थायी बासिन्दा पराजुलीले पश्चिमी मकवानपुर क्षेत्रमा उल्लेख्य मत ताने पनि विजयी हुन सकेनन्।
आगामी प्रतिनिधिसभा निर्वाचनमा पनि रास्वपाबाट टिकट पाउने सम्भावना बलियो मानिएको थियो। तर बालेन शाह को सचिवालयमा कार्यरत प्रशान्त उप्रेतीले टिकट पाएपछि उनी असन्तुष्ट बनेका थिए।
रास्वपामा बसेर सच्चा राजनीति गर्न नसकिने निष्कर्षमा पुगेकाले कांग्रेसमा फर्किएको पराजुलीले बताएका छन्। उनले भने, “रास्वपाको संगठन विस्तारमा धेरै मेहनत गरेँ, तर त्यो पार्टी दुःख गर्ने कार्यकर्ताका लागि होइन। पुँजीवादी सोच हाबी भएकाले कांग्रेसमै फर्किएको हुँ।”
पराजुलीको पुनरागमनलाई नेपाली कांग्रेस ले संगठन सुदृढीकरणको दृष्टिले महत्वपूर्ण रूपमा हेरेको छ भने यस घटनाले राष्ट्रिय स्वतन्त्र पार्टी भित्र आन्तरिक असन्तोष उजागर गरेको विश्लेषण गरिएको छ।




















