बैतडी । महाकाली कोरिडोर निर्माण कार्य अवरुद्ध भएको छ । महाकाली कोरिडोरअन्तर्गत बैतडी र डडेल्धुरामा निर्माण कार्य अवरुद्ध भएको दार्चुला तिंकर सडक योजनाका प्रमुख रामचन्द्र शाहले बताए ।
कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको खलंगासम्मको २९१ किलोमिटर सडकको वातावरणीय प्रभाव मूल्यांकन (इआईए) नहुँदा निर्माण कार्यमा अवरोध भएको हो । उनले भने, ‘दार्चुलादेखि तिंकरसम्मको १३५ किलोमिटर सडकखण्डमा निर्माण कार्य भइरहेको छ, तर विस्फोटक पदार्थको अभावले काम गर्न समस्या भएको छ ।’
कञ्चनपुरको ब्रह्मदेवदेखि सडक निर्माणका लागि ठेक्का नै हुन सकेको छैन । वातावरणीय प्रभाव मूल्याङ्कन नहुँदा सडक निर्माणको ठेक्का हुन नसकेको हो । ठेक्का भएर काम शुरु गरिएको डडेल्धुराको जोगबुढा क्षेत्रमा पनि बीचमा जंगल परेपछि सडक निर्माण कार्य अवरुद्ध छ ।
यता बैतडीको त्रिपुरासुन्दरीदेखि १० किलोमिटर ट्र्याक खोलिएको भए पनि अब जंगल क्षेत्र पर्ने भएकाले निर्माण कार्य रोकिने योजना प्रमुख शाह बताउनुहुन्छ । महाकाली कोरिडोर वातावरणीय प्रभाव मूल्याङ्कन नभएकाले निर्माण कार्य रोकेको सहायक वन अधिकृत रामप्रसाद चौधरीले जानकारी दिए । ‘वातावरणीय प्रभाव मूल्याङ्कन बिना नै काम भइरहेकाले रोकेको हो’ उनले भने ।
महाकाली कोरिडोरको वातावरणीय मूल्याङ्कनको अन्तिम प्रतिवेदन वातावरण मन्त्रालय पुगेको र अब डेढ महिनाभित्रै प्रतिवेदन तयार हुने योजना प्रमुख शाहको भनाइ छ । महाकाली नदीको किनारै किनार कञ्चनपुरदेखि निर्माण कार्य शुरु भएको महाकाली कोरिडोरको निर्माण कार्य इआएको अभावमा रोकिएको छ ।
यस्तै, दार्चुला सदरमुकामदेखि उत्तरतर्फ चीन सम्मको नाका जोड्न सडक निर्माण शुरु भएको ८ वर्षमा ३४ किलोमिटर मात्रै निर्माण भएको छ । अहिलेसम्म २८ किलोमिटरमा मात्रै यातायातका साधन सञ्चालनमा भइरहेका छन् । दार्चुला तिंकर सडक योजनाले अहिले महाकाली करिडोरको जिम्मेवारी लिएको छ ।
चालु आवमा रु ३० करोड बजेट छुट्याइएको ब्रह्मदेवदेखि डडेलधुरा, बैतडीहुँदै दार्चुलाको तिंकरसम्मको ४२६ किलोमिटर सडकखण्ड इआइए नबन्दा रोकिएको दार्चुला तिंकर सडक योजनाका प्रमुख शाहले बताउनुभयो । कञ्चनपुरको ब्रह्मदेवमा सडक निर्माणका लागि ठेक्कासमेत भएको छैन ।
उनले भने, ‘डडेलधुरा, बैतडी र दार्चुलामा गरी तीन खण्डमा निर्माण कार्य चलिरहेकै बेलामा वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) बिना काम नगर्न दबाब आएपछि काम रोकिएको छ ।’ (रासस)




















