काठमाडौँ । उदयपुर क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको तथ्य सार्वजनिक भएको छ ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका उम्मेदवार तामाङ १४ हजार ८०२ मत प्राप्त गर्दै विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अम्बरबहादुर रायामाझीले ७ हजार ६४८ मत ल्याएका थिए।
त्यस्तै नेपाली कांग्रेसका रामकुमार राईले ७ हजार २९०, नेकपाका सुरेश कुमार राईले ५ हजार १९७ तथा श्रम संस्कृति पार्टीका वलराज राईले ४ हजार १३९ मत प्राप्त गरेका थिए।
निर्वाचन परिणाम सार्वजनिक भएपछि तामाङ कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको तथ्य बाहिर आएको हो। केन्द्रले सार्वजनिक गरेको विवरणअनुसार तामाङ संलग्न ‘मकालु कान्जिरुवा अटो लिंक प्रालि’ चेक बाउन्स प्रकरणका कारण कालो सूचीमा परेको देखिएको छ।
मकालु कान्जिरुवा अटो लिङ्कले त्रिथुङ्गा ट्रेडिङको नाममा माछापुच्छ्रे बैंकको खाताबाट काटेको २ लाख ५५ हजारको चेक बाउन्स भएको थियो । २०७९ फागुन १५ गते पनि कालोसूची नम्बर ५७८२३ मा मकालु कान्जिरुवा अटो लिङ्कले माछापुच्छ्रे बैंकबाट इस्टन एजेन्सिसलाई काटेको १ करोड ५५ लाखको चेक नसाटिएका कारण सञ्चालक सूर्यबहादुर कालोसूचीमा छन्।
२०८० भदौ ५ गते माछापुच्छ्रे बैंककै खाताबाट सुरेश श्रेष्ठको नाममा काटेको २२ लाख ५० हजारको चेक नसाटिएका कारण कम्पनी र सञ्चालक कालोसूचीमा छन् । प्रेमकुमार श्रेष्ठको नाममा काटिएको १३ लाख ५५ हजारको चेक बाउन्समा पनि २०८० भदौ ६ गते कालोसूचीमा नाम चढेको छ । २०७९ कात्तिक २५ गते पनि उनको नाम कालोसूचीमा चढेको छ । कालोसूची नम्बर ४८४१० मा पनि उनको नाम छ ।
कर्जा सूचना केन्द्रको अभिलेखअनुसार उक्त कम्पनीको नाम कालो सूचीको १ लाख १ हजार ५१४ नम्बरमा सूचीकृत छ। कम्पनीका सञ्चालक सूर्यबहादुर तामाङ र लीला राई रहेको उल्लेख गरिएको छ।
प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दंगालका अनुसार निर्वाचन परिणाम घोषणा भइसकेका कारण कालोसूचीमा भएको विषयमा आयोगले केही गर्न नमिल्ने बताउँछन् । तामाङ कालोसूचीमा भएको भए सम्बन्धित पक्ष अदालत जानसक्ने उनले बताएका छन् ।
यसअघि कर्जा सूचना केन्द्रको कालो सूचीमा परेको आधारमा निर्वाचन आयोगले धनुषा–१ बाट रास्वपाका उम्मेदवार किशोरी साह (कमल)को उम्मेदवारी खारेज गरिसकेको थियो। साहको उम्मेदवारी खारेज भएपछि सो क्षेत्रबाट नेकपाका मातृका प्रसाद यादव निर्वाचित भएका थिए।
आयोगको निर्णयविरुद्ध साहले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले उक्त निर्णयसँग सम्बन्धित फाइलसहित फागुन २९ गते उपस्थित हुन निर्वाचन आयोगलाई आदेश दिएको छ।
धनुषा–१ मा मतपरिणामअनुसार रास्वपाका साहकै पक्षमा बढी मत आएको थियो। तर उम्मेदवारी खारेज भएपछि निर्वाचन आयोगले नेकपाका मातृका प्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ।




















