काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठनद्वारा चीनको सिनोभ्याक कम्पनीको कोभिड खोपलाई आपत्कालीन अवस्थामा प्रयोग गर्नका लागि स्वीकृति दिइएको छ ।
डब्ल्यूएचओको अनुमति पाउने यो दोस्रो चिनियाँ खोप रहेको बताइएको छ । अब विश्वभरि खोप वितरणका निम्ति स्थापित कोभ्याक्स कार्यक्रमले यो खोप पनि प्रयोग गर्ने बाटो खुलेको छ ।
सिनोभ्याक कम्पनीले बनाएको खोपलाई १८ वर्षभन्दा माथि उमेर समूहका मानिसहरूलाई लगाउन मिल्ने सिफारिसमा जनाइएको छ ।
यो खोप दुईदेखि चार साताको अन्तरालमा दुई मात्रा लगाउनुपर्छ । आपत्कालीन प्रयोग अनुमतिको अर्थ उक्त खोपले सुरक्षा, प्रभावकारिता अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको डब्ल्यूएचओले जनाएको छ ।
अध्ययनहरूका अनुसार सिनोभ्याकको खोपले खोप लगाएकाहरूमध्ये आधाभन्दा धेरै मानिसमा लक्षणसहितको बिमारी रोक्ने अनि शतप्रतिशत मानिसमा गम्भीर बिमारी र अस्पताल भर्ना हुनुपर्ने अवस्था रोक्ने पाइएको बताइएको छ ।
बिबिसीले जनाएअनुसार सिनोभ्याकको यो खोप चीनका अतिरिक्त चिली, ब्राजिल, इन्डोनेशिया, मेक्सिको, टर्की र थाइल्यान्डमा यसअघि नै प्रयोग गर्न सुरु भइसकेको छ ।
सिनोभ्याकका अनुसार स्वदेश र विदेश गरी मे महिनाको अन्त्यसम्म ६० करोड मात्रा आपूर्ति गरिसकेको छ, जसमध्ये ४३ करोड मात्रा खोपको प्रयोग भइसकेको छ ।
सिनोभ्याक खोपको एउटा मुख्य फाइदा भनेको २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा सामान्य रेफ्रिजरेटरमा भण्डारण गर्न यो खोप सकिन्छ अर्थात् न्यून तापक्रममा ठूलो परिमाणमा खोप भण्डारण गर्ने क्षमता नभएका विकासोन्मुख देशहरूका निम्ति यो सहज हुने देखिन्छ ।
डब्ल्यूएचओको मान्यतापश्चात् गरिब देशहरूलाई खोप वितरण गर्ने कोभ्याक्स कार्यक्रमले यो खोपलाई पनि प्रयोग गर्ने बाटो खुलेको छ । भारतले खोप निर्यातमा प्रतिबन्ध लगाइदिएपछि कोभ्याक्सले गरिब देशहरूलाई आपूर्ति गर्न सकिरहेको थिएन । गत महिना डब्ल्यूएचओले चीनको सिनोफार्म खोपलाई पनि अनुमति प्रदान गरेको थियो ।




















