खोटाङ । खोटाङमा बिहे भोज खाएका एक सयभन्दा बढी स्थानीय बिरामी परेका छन्। बिरामीमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।
जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा आयोजित बिहे भोज खाएका बेहुला र बेहुलीसमेत सबैजसो गाउँले बिरामी परेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी इन्सपेक्टर राजु बिष्टले जानकारी दिए।
उनका अनुसार घटना भएपछि इलाका प्रहरी कार्यालय चिसापानीबाट इन्सपेक्टर विजय लामिछानेको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पठाइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए।
स्थानीय वर्णबहादुर राईका छोरा किशोर राईको माघ २१ गते विवाह भएको थियो। विवाहपछि माघ २२ गते बेहुली भित्र्याएको अवसरमा राई परिवारले गाउँलेका लागि भोजको आयोजना गरेको थियो।
भोजमा पाहुना तथा गाउँले गरी करिब डेढ सय जनाले मासुभात, दाल, तरकारी र अचार खाएका थिए। भोज खाएका सबैजसो व्यक्तिमा बिरामीको लक्षण देखिएको इन्सपेक्टर बिष्टले बताए।
स्वास्थ्यकर्मीले उक्त घटनालाई फुड पोइजनिङ (खाद्य विषाक्तता) भएको आशंका गरेका छन्। स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलबहादुर पौडेलसमेत घटनास्थलमा पुगेका छन्।
स्थानीय सुजना राईको घरमा अस्थायी शिविर बनाएर बिरामीको उपचार भइरहेको छ। हाल करिब ३० जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। चिसापानी प्राथमिक स्वास्थ्य केन्द्रबाट ७ जना स्वास्थ्यकर्मी उपचारमा खटिएका छन्।
बिरामीमा ज्वरो आउने, काम्ने र झाडापखाला लाग्ने समस्या देखिएको स्वास्थ्यकर्मीले बताएका छन्।
फुड पोइजनिङका कारण बेहुला र बेहुलीसमेत बिरामी परेका छन्। उनीहरूलाई स्लाइन पानी, जीवनजल लगायत औषधि दिएर उपचार भइरहेको जनाइएको छ।




















