काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आलोचना गरेको आरोपमा यस मार्गदर्शनन्यूजडटकमका सम्पादक दीपक पाठक पक्राउ परेका छन् । प्रहरीको साइबर ब्यूरोले उनलाई बिहीबार बिहान पक्राउ गरेको हो ।
यस अनलाइनका सम्पादक पाठकले नेकपाभित्रको पछिल्लो राजनीतिक विवादबारे प्रचण्डको आलोचना गरेको आरोपमा उनको सचिवालयको उजुरीका आधारमा पक्राउ गरिएको ब्यूरोका एक प्रहरी अधिकारीले बताएका छन् ।
रेडियो नेपालका सञ्चालक समिति समस्य समेत रहेका सम्पादक पाठकले नेताको आलोचना गरेकै आधारमा प्रहरीले पक्राउ गर्नु गलत भएको भन्दै पत्रकारहरुले त्यसको निन्दा गरेका छन् । मार्गदर्शन मिडिया सम्पादक पाठकको तत्काल रिहाइको माग गर्दछ । साथै पत्रकार महासंघलगायतका सरोकारवाला निकायहरुसँग सम्पादक पाठकलाई रिहाइका लागि पहल गरिदिनु अनुरोध गरेको छ ।
फेसवुकमा लेखेकै आधारमा पछिल्लो समय सर्वसाधरणलाई पक्राउ गरेर मुद्दा चलाउन थालेको भन्दै आलोचना भइरहेको छ । एक पत्रकारले फेसवुकमा लेखेकै आधारमा पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताउँदै पत्रकारहरुले सामाजिक सञ्जाल फेसवुक मार्फत सम्पादक पाठकको तत्काल रिहाइको माग गरेका छन् ।




















