काठमाडौं । संसदीय समितिका सभापतिको उम्मेदवार तय गर्ने विषयमा प्रमुख विपक्षी दलहरू नेपाली कांग्रेस, एमाले र नेकपाको संयुक्त बैठक सुरु भएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा जारी बैठकमा अर्जुननरसिंह केसी, युवराज दुलाल, गुरुप्रसाद बराल, भीष्म आङदम्बेलगायत नेताहरू सहभागी छन्।
बैठकमा संसदीय समितिको सभापतिमा उम्मेदवारी दिने वा नदिने विषयमा छलफल भइरहेको छ। छलफलमा सहभागी एक नेताका अनुसार ‘उम्मेदवारी दिने, जित–हार स्वाभाविक हुने’ धारणा अघि सारिएको छ।
आजै संसदीय समितिका सभापतिहरूका लागि मनोनयन दर्ता हुँदैछ। संघीय संसद् सचिवालयले दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ, जुन प्रतिनिधिसभा सचिवको कार्यकक्ष, सिंहदरबारमा हुनेछ। आजै साढे ४ बजे उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गरिनेछ।
संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन्, जसमा प्रतिनिधिसभाअन्तर्गत १०, राष्ट्रिय सभाअन्तर्गत ४ र २ वटा संयुक्त समिति छन्। राष्ट्रिय सभाका विषयगत समितिका सभापति यसअघि नै चयन भइसकेका छन् भने प्रतिनिधिसभा र संयुक्त समितिका सभापतिको निर्वाचन हुन बाँकी छ।
गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिका सदस्यहरू चयन गरेको थियो भने सभामुख डोलप्रसाद अर्यालले आगामी शुक्रबार सभापति चयनका लागि निर्वाचन मिति तोकेका छन्।




















