काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. भट्टलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको संघीय मामिला तथा प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिएकी हुन्।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट २०८२ कात्तिक ६ गते अनिवार्य अवकाश पाएका डा. भट्ट २०५७ मा सहायक निर्देशकको रूपमा राष्ट्र बैंकमा प्रवेश गरेका थिए । उनी २०७५ साल कात्तिकमा कार्यकारी निर्देशक बनेका थिए ।
यो अवधिमा भट्टले आर्थिक अनुसन्धान विभागमा सबैभन्दा लामो जिम्मेवारी सम्हाले त्यस्तै, बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग र मौद्रिक व्यवस्थापन विभागमा रहेर काम गरेका थिए ।
गत चैतमा गभर्नर महाप्रसाद अधिकारीको अनिवार्य अवकाशपछि उनी गभर्नरको दौडमा थिए । तत्कालीन अवस्थामा सत्तारुढ दलबिच लामो माथापच्चीका कारण कांग्रेसको रोजाइमा रहेका उनी गभर्नर बन्न सकेनन् । गभर्नर बन्नकै लागि राजीनामा दिए पनि तत्कालीन कायम मुकायम गभर्नर निलम ढुङ्गानाले राजीनामा स्वीकृत गरेकी थिइनन् ।
नयाँ गभर्नरमा विश्व पौडेल नियुक्त भएपछि उनी गभर्नर कार्यालयको कार्यकारी निर्देशकको रूपमा रहेर काम गरेका थिए ।




















