काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकमा रिक्त दुई डेपुटी गभर्नर पदमध्ये एकमा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो।
संघीय मामिला तथा प्रशासनमन्त्री प्रतिभा रावलका अनुसार अर्थ मन्त्रालयको प्रस्तावमा पण्डितलाई उक्त पदमा नियुक्त गरिएको हो।
पण्डितले विसं २०६२ सालदेखि बैंकिङ सेवामा प्रवेश गरेका हुन्। उनले बैंक सुपरीवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग तथा वित्तीय समावेशिता र ग्राहक संरक्षण महाशाखा लगायत विभिन्न महत्वपूर्ण विभागमा रहेर काम गरिसकेका छन्।




















