काठमाडौं । अमेरिकाले एकैपटक ४५ जना नेपालीलाई निष्काशित गरेको छ । विभिन्न समयमा पक्राउ परेका उनीहरूलाई अमेरिकाले निष्कासन गरी नेपाल पठाएको हो ।
निष्कासनमा परेका नेपालीहरू काठमाडौं आइपुगेका हुन् । ओमनी एयरलायन्सको विमानबाट उनीहरू भारतको नयाँ दिल्ली हुँदै मंगलबार काठमाडौं आइपुगेको प्रहरीले जनाएको छ ।
प्रहरीको मानव बेचबिखन ब्युरोले उनीहरूसँग सोधपुछ गरेको छ ।
निष्कासनमा परेका नेपालीहरूलाई कसरी अमेरिका पुगेको बारेमा सोधपुछ भइरहेको प्रहरीले जानकारी दिएको छ । विभिन्न प्रलोभनमा परेर नेपालीहरू गैरकानुनी रूपमा तल्लो बाटो हुँदै अमेरिका प्रवेश गर्ने गरेका छन् । आवश्यक कागजात नभएपछि उनीहरूलाई अमेरिकाको अध्यागमन प्रहरीले पक्राउ गरी निष्कासन गर्ने गरेको छ । यसअघि पनि पटक-पटक सयौं संख्यामा नेपालीहरू अमेरिकाबाट निष्कासित हुँदै आएका छन् ।



















