काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्। उनलाई सोमबार राति ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो।
अस्पतालका निर्देशक डा. रत्नमणि गजुरेलका अनुसार उच्च रक्तचाप (प्रेसर) बढेपछि उपचारका लागि अस्पताल ल्याइएको हो। ‘राति सुत्ने बेला असहज भएपछि अस्पताल ल्याइएको थियो, ल्याउँदा प्रेसर उच्च थियो,’ उनले बताए। साथै पेटमा ग्यासको समस्या पनि देखिएको थियो।
डा. गजुरेलका अनुसार हाल उपराष्ट्रपति यादवको स्वास्थ्य अवस्था सामान्य रहेको छ। ‘कतिपय परीक्षणका रिपोर्ट नर्मल आएका छन् भने केही परीक्षणको रिपोर्ट आउन बाँकी छ,’ उनले जानकारी दिए।
उनको उपचार डा. गजुरेल नेतृत्वको टिम तथा पेटरोग विशेषज्ञहरूद्वारा भइरहेको छ। यादवलाई अस्पतालको भीआईपी क्याबिन नम्बर ७०१ मा राखिएको छ।




















