काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्नुपर्ने माग गरेका छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै साम्पाङले देशको सार्वभौमिकता र असंलग्न परराष्ट्र नीतिको संरक्षणका लागि एमसीसी खारेज गर्न आवश्यक रहेको बताएका हुन्। उनले एमसीसीलाई सैन्य रणनीतिसँग जोडिएको असमान सन्धीको रूपमा टिप्पणी गरेका छन् ।
साम्पाङले सीमावर्ती क्षेत्रमा सरकारको निगरानी बढाउनुपर्ने आवश्यकता पनि औल्याउँदै सबै सांसदको सम्पत्ति छानबिन गर्न माग गर्दै उनले शिक्षा प्रणालीलाई उत्पादन, निर्माण र आविष्कारसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।
उनले जीवनोपयोगी शिक्षाको कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै संसद् बैठकमा ढिलाइ हुने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै उनले जनप्रतिनिधिहरूलाई समयको कदर गर्न आग्रह गरे।
यस्तै, संसदभित्र विभेद भइरहेको गुनासो गर्दै उनले जनताका आवाज राख्न सांसदहरूलाई पर्याप्त समय उपलब्ध गराउनुपर्ने धारणा राखे।
त्यस्तै सांसद साङपाङले भदौ २४ गते सिंहदरवार, सर्वोच्च अदालत, संसद भवन लगायतका भौतिक संरचना जलाउनेहरुलाई पनि कारवाही हुनु पर्ने माग गरेका छन् ।




















