काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्ना अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा सडक संघर्ष सुरु गर्ने घोषणा गरेको छ । पार्टीका सचिव महेश बस्नेतका अनुसार एमालेले आजदेखि नै विरोध प्रदर्शन गर्ने तयारी गरेको हो ।
बस्नेतले सामाजिक सञ्जालमार्फत कार्यकर्ता र समर्थकलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् । “प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न प्रदर्शनमा जुटौं,” उनले लेखेका छन् । कार्यक्रमको विस्तृत विवरण केही समयमै सार्वजनिक गरिने पनि उनले उल्लेख गरेका छन् ।
जेनजी आन्दोलनका क्रममा दमन गरेको आरोपमा प्रहरीले ओलीसहित पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार बिहान पक्राउ गरेको थियो ।
बस्नेतले पक्राउ प्रकरणलाई ‘राजनीतिक प्रतिशोध र पूर्वाग्रह’को उदाहरणका रूपमा व्याख्या गर्दै यसले द्वन्द्व बढाउने चेतावनी दिएका छन । साथै, उनले नेपाल प्रहरीको भूमिकामाथि पनि प्रश्न उठाएका छन् ।




















