काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहको पराकाष्ठा भन्दै सरकारको कडा आलोचना गरेको छ।
तरुण दलका अध्यक्ष विद्वान गुरुङले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको यो कदमले विधिको शासनमाथिको ठाडो प्रहार भन्दै मुलुकलाई गम्भीर अस्थिरतातर्फ धकेल्ने घटना भएको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सरकारले प्राप्त गरेको जनादेशलाई आत्मसात गर्दै मुलुकलाई समृद्धितर्फ लैजानुको साटो राजनीतिक प्रतिशोधका आधारमा शीर्ष नेताहरूलाई पक्राउ गर्नु घोर निन्दनीय छ ।’
तरुण दलले एकपक्षीय र दुराशयपूर्ण कदमले लोकतान्त्रिक मूल्य र मान्यतालाई धराशायी बनाउने भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ ।
सरकारका यस्ता गतिविधिले देशमा अनावश्यक द्वन्द्व र अस्थिरता निम्त्याउने खतरा बढेको दाबी गर्दै तत्काल निर्णयमा पुनर्विचार गर्न चेतावनी समेत दिएको छ ।
देशको स्थायित्व, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्नु सबै पक्षको साझा दायित्व भएको स्मरण गराउँदै तरुण दलले शान्ति र समृद्धिको मार्गमा अवरोध पुर्याउने कुनै पनि गतिविधिविरुद्ध सशक्त प्रतिरोध गर्ने प्रतिबद्धता समेत जनाएको छ ।
तरुण दलले मुलुकलाई अस्थिरतातर्फ लैजाने सरकारी कदमको डटेर सामना गर्ने भन्दै लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य र संवादको खाँचो रहेको स्पष्ट पारेको छ ।





















