काठमाडौं । केपी शर्मा ओलीले आफ्नो पक्राउलाई ‘प्रतिशोधपूर्ण कदम’को रूपमा टिप्पणी गरेका छन् । जेनजी आन्दोलनका क्रममा नागरिकको ज्यान गएको घटनासँग जोडिएको आरोपमा शनिबार बिहान प्रहरीले उनलाई नियन्त्रणमा लिएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
प्रहरी पक्राउ पुर्जी लिएर निवास पुगेपछि ओलीले तत्काल कानुनविद्हरूसँग परामर्श गरेका थिए । सो क्रममा उनले आफूविरुद्धको कारबाही कानुनी आधारविहीन भएको दाबी गर्दै अदालतमा चुनौती दिने तयारी गर्न आग्रह गरेका थिए ।
ओलीले पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईसँग छलफल गरेका थिए । उक्त परामर्शमा सहभागी भट्टराईले समेत पक्राउको कानुनी वैधतामाथि प्रश्न उठाएका छन् । उनका अनुसार प्रारम्भिक दृष्टिमै यो कारबाही कानुनसम्मत देखिँदैन ।




















