काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा कायम गरिएको मापदण्डलाई आगामी निर्वाचनहरूमा पनि निरन्तरता दिनुपर्ने बताएकी छन्।
निर्वाचन आयोग नेपालद्वारा बहादुरभवनस्थित कार्यालयमा आयोजित चियापान कार्यक्रममा बोल्दै उनले देशभर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनु र कतै पुनःमतदान गर्न नपर्नु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरिन्।
प्रधानमन्त्री कार्कीका अनुसार यसपटकको निर्वाचनले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि सुधार्दै लोकतान्त्रिक मूल्य–मान्यता र संवैधानिक प्रणालीलाई थप सुदृढ बनाएको छ।
प्रधानमन्त्री पद सम्हाल्दा कानुनी तथा राजनीतिक शून्यता र सुरक्षा चुनौती रहेको स्मरण गर्दै उनले त्यस्तो परिस्थितिबाट सफलतापूर्वक निर्वाचन सम्पन्न गर्नु ठूलो उपलब्धि भएको बताइन्।
उनले निर्वाचन घोषणा भएपछि अध्यादेशमार्फत करिब १० लाख नयाँ युवा मतदाताले नाम दर्ता गरी उत्साहपूर्वक सहभागिता जनाएको जानकारी दिँदै स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गराएकोमा आयोगलाई धन्यवादसमेत दिइन्।




















