काठमाडौं । उज्यालो नेपाल पार्टीले अब सडकबाटै ‘जनताको सरकार’ सञ्चालन गर्ने भएको छ ।
बुधबार काठमाडौंमा आयोजित उज्यालो नेपाल पार्टीको बागमती प्रदेशस्तरीय अगुवा भेलामा बोल्दै अध्यक्ष कुलमान घिसिङले मुलुकको समृद्धि र राष्ट्रियताका पक्षमा सडकबाटै सशक्त भूमिका खेल्ने बताएका हुन्।
उनले देशमा देखिएका समस्या, विभेद र कुशासन अन्त्य गर्न आफ्नो पार्टीले निरन्तर खबरदारी गर्ने उल्लेख गर्दै राम्रा कामको समर्थन र नराम्रा कामको विरोध गर्ने स्पष्ट पारे। घिसिङका अनुसार सडकमार्फत जनताको आवाज उठाउँदै देशलाई सही दिशामा अघि बढाउने लक्ष्य पार्टीको रहेको छ।
उनले पार्टीलाई जनताको घरदैलोमा लैजाने र आगामी प्रदेश तथा स्थानीय तह निर्वाचनमा सशक्त शक्तिका रूपमा स्थापित गर्ने दाबी पनि गरे। साथै, प्रतिनिधिसभा निर्वाचनमा समय अभावका कारण अपेक्षित परिणाम हासिल गर्न नसकेको उनको निष्कर्ष छ।




















