
काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आफूले सभामुखको जिम्मेवारी निष्पक्ष, पारदर्शी र संविधानअनुसार निर्वाह गर्ने बताएका छन्।
रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पदबहाली गर्दै केसीले जनताबाट प्राप्त आकांक्षा र अपेक्षालाई सम्बोधन गर्न संसद् र सरकारले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए।
उनले मुलुकका साझा चुनौतीका रूपमा गरिबी, रोग, भोक र कुशासनलाई उल्लेख गर्दै यस्ता समस्याको समाधानका लागि संसद्ले सक्रिय र जिम्मेवार भूमिका खेल्नुपर्ने बताए। साथै, संविधान, संसद्को नियमावली र संसदीय अभ्यासअनुसार निष्पक्ष ‘रुलिङ’ गर्ने तथा प्रत्येक सांसदको विशेषाधिकारको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन र संसद् अधिवेशनको तयारी भइरहेका बेला ज्येष्ठ सदस्यको हैसियतमा केसीले सभामुखको जिम्मेवारी सम्हालेका हुन्।




















