काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन बिना पूर्वाग्रह सार्वजनिक गरी कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
मंगलबार पार्टी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले प्रतिवेदन सार्वजनिक भएसँगै त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए। ‘प्रतिवेदन तत्काल सार्वजनिक होस् र त्यसअनुसार कार्यान्वयन पनि होस्, जसले गल्ती गरेको छ उसले सजाय पाओस्,’ उनले भने।
थापाले कुनै पूर्वाग्रह नराखी प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने विषयमा पार्टी स्पष्ट अडानमा रहेको उल्लेख गरे।
यसैबीच उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई संविधानको भावना र नवयुवाहरूको विद्रोहको मर्मअनुसार सरकार सञ्चालन गर्न सुझाव दिए। रास्वपालाई पाँच वर्ष सरकार चलाउने अवसर प्राप्त भएको उल्लेख गर्दै उनले सफल कार्यकालका लागि शुभकामना समेत व्यक्त गरे।
थापाले निर्वाचनमार्फत नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षको जिम्मेवारी प्राप्त भएको बताउँदै नयाँ भूमिकामा जिम्मेवार ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।




















