काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सभापतिबाट दिएको राजीनामा अस्वीकृत भएपछि केन्द्रीय कार्यसमितिको निर्णयलाई सम्मान गर्ने बताएका छन्।
मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै थापाले प्रतिनिधिसभा निर्वाचनमा पराजयपछि नैतिक जिम्मेवारीस्वरूप राजीनामा दिएको स्पष्ट पारे। ‘मैले आफ्नो कर्तव्य ठानेअनुसार काम गरेँ,’ उनले भने।
थापाले दिएको राजीनामा केन्द्रीय कार्यसमितिले अस्वीकृत गरेपछि उनी पुनः सभापतिकै हैसियतमा बैठकमा सहभागी भएका हुन्। बैठकको अध्यक्षता गर्दै उनले अहिले निर्णय ठीक वा बेठीक भन्ने समय नभएको उल्लेख गरे।
‘केन्द्रीय कार्यसमितिले जे उचित ठान्यो, त्यही निर्णय गर्यो,’ उनले भने। साथै, यस विषयमा थप छलफल आगामी महाधिवेशनमा हुने पनि उनले संकेत गरेका छन्।
थापाले केन्द्रीय कार्यसमितिको निर्णयलाई सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
आफूहरूले विशेष महाधिवेशन गरेर कुनै कमजोरी नगरेको दावी गर्दै सभापति थापाले विशेष महाधिवेशन नगरी चुनावमा गएको भए कसरी सामना गर्नुपर्थ्यो भन्ने कसैले कल्पना नै नगरेको बताए ।
उनले भने, ‘हामी चुनावमा प्रतिस्पर्धा गर्ने सबैले परिस्थितिबारे मूल्याङ्कन गरेका छौँ । जो कांग्रेसका उम्मेदवारका निम्ति मत माग्न आउनुभएन वा मत हाल्न जानुभएन उहाँहरूले यसको बारेमा अनुमान लगाउन सक्नुभएन ।’




















