काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेता चयनबारे निर्णय लिन बिहीबार केन्द्रीय समितिको बैठक बोलाएको छ।
चैत १२ गते अपराह्न २ बजे प्रतिनिधिसभा सदस्यहरूको शपथ समारोह तय भएको छ भने सोही दिन दिउँसो ४ बजे संसदीय दलको नेता चयनबारे छलफल गर्न बैठक बस्ने जनाइएको छ।
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने उक्त बैठकमा सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। बैठकमा अन्य समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ।
पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह वालेनलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर निर्वाचनमा गएको रास्वपाले झण्डै दुई तिहाइ सदस्यमा जित हासिल गरेको छ । जसले गर्दा बालेनलाई नै संसदीय दलको नेता बनाएर प्रधानमन्त्री बनाउने लगभग निश्चित छ ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जितेको थियो।




















