काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको विशेष ‘चेकिङ’ अभियानअन्तर्गत राइड सेयरिङ सेवामा संलग्न १७५ जना चालकलाई कारबाही गरिएको छ ।
उपत्यकाका विभिन्न व्यस्त क्षेत्रमा गरिएको अनुगमनका क्रममा प्रचलित कानुन विपरीत सवारी सञ्चालन गरेको पाइएपछि उनीहरूलाई कारबाही गरिएको कार्यालयले जनाएको छ।
कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार पछिल्लो समय राइड सेयरिङ सेवाको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने, मापदण्ड नपु¥याई यात्रु ओसारपसार गर्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने प्रवृत्ति पनि बढेको देखिएको छ।
उनले भने, “उपत्यकाका विभिन्न स्थानमा विशेष चेकिङ अभियान सञ्चालन गरिएको थियो, जसमा १७५ जना चालक कारबाहीमा परेका छन्।”
कारबाहीमा परेका अधिकांश चालकले ‘अनलाइन प्लेटफर्म’को अनुमति नलिई अफलाइन रूपमा सेवा सञ्चालन गरिरहेको पाइएको छ। साथै जथाभावी स्थानमा यात्रु चढाउने–झार्ने, सवारीसाधनको प्राविधिक अवस्था कमजोर हुनु, आवश्यक कागजात नहुनु तथा ट्राफिक नियम उल्लङ्घनजस्ता गतिविधि पनि भेटिएका छन्।
कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले राइड सेयरिङ सञ्चालनका लागि सम्बन्धित निकायबाट अनुमति लिनु, सवारीको नियमित मर्मतसम्भार गर्नु र चालकले आवश्यक कागजात बोकेको हुनुपर्ने अनिवार्य रहेको बताए।
व्यस्त चोक, अस्पताल, विद्यालय क्षेत्र तथा मुख्य सडकमा जथाभावी सवारी रोकेर यात्रु चढाउने–झार्ने कार्यले यातायात अवरोध हुनुका साथै दुर्घटनाको जोखिम बढाउने भएकाले यसप्रति कडाइ गरिएको उनले स्पष्ट पारे।
ट्राफिक प्रहरीले यस्ता अनुगमन अभियान आगामी दिनमा पनि निरन्तर र अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने जनाएको छ।




















