काठमाडौं । सरकार प्रशासनिक क्षेत्र सिंहदरबारको सुरक्षाप्रति संवेदनशील देखिएको छ । यही विषयलाई लिएर गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबारको सुरक्षा प्रबन्धका लागि सुरक्षा निकायसँग छलफल गरेका छन् ।
जेनजी आन्दोलनका क्रममा सिंहदरबारभित्र रहेका प्रमुख प्रशासनिक भवनहरू जलेर नष्ट भएपछि सरकारले सुरक्षा प्रबन्धका विषयमा छलफल गरेको हो ।
संघीय संसद पनि अब सिंहदरबारमै रहने र सांसदहरूको सपथ र अधिवेशनलगायतका क्रियाकलाप हुने भएकाले सरकारले सिंहदरबारको सुरक्षामा थप सतर्कता अपनाएको हो ।
संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरूलाई बिहीबार सपथग्रहण गराउँदैछ । त्यस्तै रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले पनि शुक्रबार प्रधानमन्त्री पदमा सपथ लिने तयारी गरेका छन् ।
बैठकमा गृहमन्त्री अर्यालले सांसदहरुको सपथ ग्रहण, संसद अधिवेशन सञ्चालन र व्यवस्थापन तथा सिंहदरबारभित्रका मन्त्रालयको सुरक्षालाई समेत ध्यानमा राखेर ट्राफिक र सुरक्षा व्यवस्थापन चुस्त बनाउन निर्देशन दिएका थिए ।




















