काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ सम्बन्धी छानबिन गर्न गठन गरिएको कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले प्रतिवेदन बुझाइसके पनि अन्तरिम सरकारले हालसम्म सार्वजनिक नगरेकोप्रति आपत्ति जनाएका हुन्।
उनले प्रतिवेदन सार्वजनिक नहुनुले विभिन्न आशंका र उपशंका जन्माएको उल्लेख गर्दै “किन प्रतिवेदन सार्वजनिक गरिँदैन ? के कारणले रोकिएको हो ?” भन्ने प्रश्न उठाएका छन्।
पौडेलले अन्तरिम सरकारको कार्यकाल सकिन लाग्दा पनि प्रतिवेदन सार्वजनिक नगर्नु गैरजिम्मेवार भएको टिप्पणी गरेका छन्। आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै भएको उनले बताएका छन्।
यसअघि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले समेत उक्त प्रतिवेदन सार्वजनिक गर्न औपचारिक रूपमा माग गरिसकेको उनले स्मरण गराएका छन्।
“यसअघि जस्तै आयोगका प्रतिवेदन गुपचुप राखिने प्रवृत्ति दोहोरिनु विडम्बना हो,” भन्दै उनले सरकारलाई यथाशीघ्र प्रतिवेदन सार्वजनिक गरेर आफ्नो दायित्व पूरा गर्न आग्रह गरेका छन्।




















