काठमाडौं । कम्बोडियामा विभिन्न कारणले अलपत्र परेका २० नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइएको छ। प्रलोभनमा परेर कम्बोडिया पुगेका उनीहरूलाई थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासको पहलमा उद्धार गरिएको हो।
दूतावासका अनुसार उद्धार गरिएका नेपालीहरूलाई अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनोमार्फत हुने ठगी तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न गराइएको थियो। केही व्यक्ति भने भिसा अवधि सकिएपछि पनि त्यहाँ अवैध रूपमा बसिरहेका थिए।
कम्बोडिया सरकारको सहयोग र दूतावासको सक्रिय समन्वयमा उनीहरूको उद्धार सम्भव भएको हो। उद्धारपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा उनीहरूलाई बुधबार काठमाडौं पठाइएको थियो।
दूतावासले कम्बोडियामा अझै केही नेपाली कठिन अवस्थामा रहेको जानकारी प्राप्त भएको जनाउँदै उनीहरूको उद्धारका लागि पनि पहल भइरहेको जनाएको छ।
त्यस्तै, समस्यामा परेका नेपालीहरूलाई बैंककस्थित नेपाली दूतावास वा एनआरएनए कम्बोडियाका प्रतिनिधिहरूसँग सम्पर्क गर्न अनुरोध गरिएको छ।
उपलब्ध तथ्याङ्क अनुसार पछिल्लो समय कम्बोडिया जाने नेपालीको संख्या तीव्र रूपमा बढेको छ। सन् २०२१ मा १०१ जना पुगेका नेपाली सन् २०२५ सम्म आइपुग्दा ९,६७६ पुगेका छन्।
दूतावासले कुनै पनि प्रलोभनमा नपरी नेपाल सरकारले तोकेका मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्र कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डजस्ता देशहरूमा जान नागरिकलाई सचेत गराएको छ।





















