काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठक उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बस्ने भएको छ। सभापति गगनकुमार थापाले दिएको राजीनामाबारे छलफल हुने मुख्य कार्यसूची रहेको छ।
बैठकमा उपसभापति शर्माले थापाको राजीनामाबारे औपचारिक जानकारी गराउँदै उक्त राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश गर्ने तयारी गरेका छन्। पार्टी स्रोतका अनुसार निर्वाचनमा भएको पराजयको जिम्मेवारी एक व्यक्तिमा सीमित नभएको निष्कर्षसहित राजीनामा अस्वीकृत गर्ने धारणा अघि सारिनेछ।
निर्वाचनमा भोगेको हारबारे प्रारम्भिक समीक्षा पनि बैठकमा प्रस्तुत गरिनेछ। तल्लो तहबाट सबै विवरण आइनसकेकाले प्रारम्भिक प्रतिवेदनमार्फत पराजयका कारणहरूबारे जानकारी गराइने जनाइएको छ। साथै, पार्टी केन्द्रीय कार्यालयले सबै निर्वाचन क्षेत्रलाई विजय तथा पराजय दुवैका कारण खुलाएर प्रतिवेदन पठाउन निर्देशन दिएको छ।
सभापति थापाले २१ फागुनमा सम्पन्न निर्वाचनमा पराजय भोगेपछि नैतिक जिम्मेवारी लिँदै उपसभापति शर्मालाई राजीनामा बुझाएका थिए। उनी शुक्रबारको बैठकमा सहभागी नहुने बताइएको छ।
पार्टीभित्र भने विशेष महाधिवेशनबाट आएको नेतृत्वले छोटो तयारीमै निर्वाचनमा सहभागी हुनुपरेको, जसका कारण अपेक्षित परिणाम नआएको विश्लेषण गरिएको छ। सोही आधारमा बैठकमा थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव अघि बढाइने तयारी रहेको एक पदाधिकारीले जानकारी दिएका छन्।
यसअघि पनि थापाले राजीनामा दिन खोज्दा पार्टीका शीर्ष नेताहरूले रोक्ने प्रयास गरेका थिए। विभिन्न जिल्लाका नेताहरूले समेत राजीनामा नदिन आग्रह गर्दै संयुक्त धारणा सार्वजनिक गरेका थिए। तर अन्ततः थापाले औपचारिक रूपमा राजीनामा बुझाएका हुन्।




















