काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित ११० सांसदलाई प्रमाणपत्र प्रदान गरेको छ।
बिहीबार आयोगमा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी तथा निर्वाचन आयुक्तहरू डा. जानुकाकुमारी तुलाधार र सगुन शमशेर जबराले निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेका हुन्।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा समानुपातिकतर्फ ६ राजनीतिक दलले प्रतिनिधित्व सुनिश्चित गरेका थिए। जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७ सिट, नेपाली कांग्रेसले २०, नेकपा (एमाले) ले १६, नेकपा ले ९ तथा श्रमसंस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समान ४–४ सिट प्राप्त गरेका छन्।
यसअघि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ निर्वाचित १६५ सांसदलाई भने मतपरिणाम सार्वजनिक भएलगत्तै सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत प्रमाणपत्र प्रदान गरिएको थियो।
आजै प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने तयारी आयोगले गरेको छ ।
राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने हुनेछ ।




















