काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले वर्तमान संविधान र राजनीतिक व्यवस्थाप्रति आफ्नो स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।
नवनिर्वाचित सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले लोकतान्त्रिक प्रणालीप्रति आफू दृढ रहेको बताए। “म लोकतान्त्रिक पद्धतिमा विश्वास गर्छु,” उनले भने ।
रास्वपाको संविधानप्रतिको धारणा बारे विभिन्न टिकाटिप्पणी भइरहेका बेला, लामिछानेले पहिलोपटक औपचारिक कार्यक्रममा आफ्नो धारणा सार्वजनिक गरेका हुन्। चुनावी अभियानका क्रममा यस विषयमा पार्टी नेतृत्वले खुलेर नबोलेको पनि उल्लेख गरिएको थियो।
उनले वर्तमान संविधान र व्यवस्थाप्रति पार्टीको प्रतिबद्धता अडिग रहेको स्पष्ट पार्दै भने, “वर्तमान संविधान र व्यवस्थाप्रति हाम्रो प्रतिबद्धता डगमगाउने छैन।”
यद्यपि, शासकीय स्वरूपमा सुधार आवश्यक रहेको उनको भनाइ थियो। “सामर्थ्य पुगेपछि केही सुधार आवश्यक छ भन्ने हामीलाई थाहा छ,” उनले सांसदहरूलाई सम्बोधन गर्दै भने, “तर वर्तमान व्यवस्था र परिवर्तनप्रति हाम्रो विश्वास कायम छ, र तपाईंहरूले पनि यसलाई कायम राख्नुहुनेछ भन्ने आशा लिएको छु।”



















