ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपाको योजना समग्र देशको विकास गर्नु रहेको बताएका छन् ।
रास्वपाद्वारा ललितपुरमा नवनिर्वाचित सांसदका लागि आयोजित अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रमको समापन समारोहलाई आज सम्बोधन गर्दै उनले सांसदले आफ्नो क्षेत्रको विकास गरेर मात्रै देशले न्याय नपाउने भएकाले समग्र मुलुकको विकासमा केन्द्रित हुन सबैलाई निर्देशन दिए ।
सभापति लामिछानेले जनताले दिएको जिम्मेवारी आफूहरूको काँधमा आइपुगेको भन्दै जिम्मेवार भई जनहितमा काम गर्न सबैलाई आग्रह गरे ।
रास्वपालाई जनाताले कानुन बनाउने जिम्मेवारी दिएको भन्दै सभापति लामिछानेले कानुन निर्माताका रूपमा गहन जिम्मेवारी छन् भन्ने सबैले बुझ्नुपर्ने धारणा राखे ।
सभापति लामिछानेले पार्टी जन्मेदेखि मुद्दा चलेको स्मरण गर्दै आफूहरूले संरक्षण गर्दै यहाँसम्म पुगेकाले आगामी दिनमा यसलाई थप मजबुत बनाउने जिम्मेवारी हाम्रै रहेको धारणा राखे ।
यो सामान्य निर्वाचनबाट आएको जनमत नभएको भन्दै सभापति लामिछानेले विशेष परिस्थििमा जनतालाई रास्वपालाई विश्वास गरेकाले जिम्मेवारीबोध भई काम गर्न सबैलाई आग्रह गरे ।
सभापति लामिछानेले पार्टीले उठाएको ‘राइट टु रिकल’को व्यवस्थालाई यसपटक कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिँदै अनुशासित भएर स्वतन्त्रताको उपयोग गर्न सबैलाई मार्गनिर्देश गरे ।
सभापति लामिछानेले अब सुशासनको क्षेत्रमा नयाँ मानक कायम हुने विश्वास व्यक्त गरे । उनले पार्टीबाट निर्वाचित सांसदहरूलाई देशको संविधान, संसद्को नियमावली र पार्टीको विधानअनुसार मुलुक र जनताप्रति इमानदार भएर काम गर्न आग्रह गरे ।




















