काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरुको सरकार गठन नहुँदै पार्टीभित्र फाटो ल्याउन विभिन्न समूहहरु सक्रिय रहेकाले त्यसबाट सचेत रहनुपर्ने बताएका छन् ।
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित पार्टीका सांसदहरुसँगको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले आफूहरु मिल्न नसके र स्वार्थको बन्दी बने समस्याहरु आउन सक्ने बताए ।
उनले नव निर्वाचित पार्टीका सांसदहरुलाई पुराना दलहरुबाट टाढा बस्न आग्रह गरे । नव निर्वाचत सांसदहरुलाई जथाभावी गलत अभिव्यक्तिहरु नदिन आग्रह गर्दै यस्तो छुट रास्वपाका सांसदहरुलाई नभएको पनि बताए ।
उनले निर्वाचित सबैलाई सकेसम्म सरकारी अस्पतालमा उपचार गराउन समेत आग्रह गरेका छन् । उनले कुन धाराले कहाँ के काम अड्किएको छ भनेर निर्वाचितहरूले थाहा पाउनुपर्ने बताउँदै भने, ‘कहाँ कसलाई भनेर हुन्छ भनेर दौडधुप नगर्नु होला ।’ उनले कुनै बहाना गर्न नपाउने गरी जनताले आफूहरूलाई जिताएर पठाएको भन्दै आफूहरू सचेत हुनुपर्ने बताएका छन् ।




















