काठमाडौँ । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्तम्छामा भएको हेलिकप्टर दुर्घटनामा बेलायतबाट फर्किएका एक परिवारका सदस्यहरू सवार रहेको खुलेको छ ।
बेलायती सेनाबाट अवकाश प्राप्त डाकमनी राईकी पत्नी मनलक्षीको निधन भएपछि अन्तिम संस्कारका लागि उनीहरू थातथलो फर्किएका थिए। बेलायतमै निधन भएकी पत्नीको शव लिएर नेपाल फर्किए पनि काठमाडौँबाट हेलिकप्टरमा शवको बाकस अट्न नसकेपछि शवलाई गाडीमार्फत पठाइएको गाउँपालिका अध्यक्ष समिर राईले जानकारी दिए।
शव गाडीमा पठाइए पनि बिरामी रहेका डाकमनी, अन्तिम संस्कारका लागि गएका पास्टर र अन्य आफन्त भने हेलिकप्टरमा सवार थिए।
गाउँमा हेलिकप्टर अवतरणका लागि बारीमा अस्थायी हेलिप्याड तयार गरिएको थियो। तर, सुरुमा हेलिप्याडभन्दा केही पर अवतरण गरेको हेलिकप्टर सार्ने क्रममा दुर्घटना भएको हुनसक्ने भिडियोबाट देखिएको छ। हेलिकप्टर पल्टिँदै माथिल्लो भागतर्फ पुगेको र भित्तामा ठोकिएको थियो।
मध्यान्ह १२ बजेर २ मिनेटमा पुगेको एयर डाइनेस्टीको ९ एनएफक्यू हेलिकप्टर दुर्घटनामा एक जना घाइते भएका छन्। पाइलट सविन थापासहित ६ जना सवारमध्ये यात्रु काजीबहादुर राई घाइते भएका हुन्। घाइते काजीबहादुर र पाइलट सविन थापालाई एयर डाइनेस्टीकै अर्को हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ।




















