काठमाडौँ । फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदका लागि दुईदिने विशेष अभिमुखीकरण कार्यक्रम गरेको छ । मंगलबार १२ घण्टे प्रशिक्षणमा सहभागी भएका सांसद आज दोस्रो दिन सात घण्टे अभिमुखीकरणमा सहभागी हुँदै छन् ।
त्यो कार्यक्रममा सहभागी नभएका ‘भावी प्रधानमन्त्री’ का रूपमा हेरिएका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) भने बहुमतको सरकार कस्तो बनाउने भनेर टिम निर्माणमा व्यस्त छन् ।
नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेको रास्वपाले बालेन नेतृत्वमा सरकार गठनका लागि आन्तरिक गृहकार्य गरेको हो । बालेन यतिबेला मन्त्रिमण्डलको छनोटबारे छलफलमा व्यस्त भएका हुन् ।
बालेनलाई प्रधानमन्त्री बनाउन रास्वपाले संसदीय दलको नेता चयन र पार्टी विधानमा संशोधन गर्ने प्रक्रियासमेत आवश्यक पर्ने भएकाले त्यसको समेत तयारी गरिरहेको छ ।
रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता साह, उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र डीपी अर्यालबीच भावी सरकारका विषयमा पटकपटक छलफल भएका छन् । शीर्ष नेताको छलफल कस्ता व्यक्तिलाई मन्त्री बनाउने, सरकार बनेलगत्तै के-कस्ता काम सुरु गर्ने लगायतका विषयमा केन्द्रित छन् ।




















