काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई बधाई दिएको छ ।
सीपीसीले शुभकामना सन्देश पठाएर रास्वपा नेतृत्वको सरकारसँग चीनले मैत्रीपूर्ण सम्बन्ध कायम राख्ने र सहकार्यलाई गहिरो बनाउने जनाएको छ ।
सीपीसीको अन्तर्राष्ट्रिय विभागले पठाएको पत्रमा भनिएको छ, ‘दुई देशबीचको सम्बन्धलाई थप सुदृढ पार्दै आपसी सिकाइलाई गहिरो बनाउन तयार छौं । यसले द्विपक्षीय सम्बन्धको निरन्तर, सुदृढ र स्थिर विकास प्रवर्द्धन गर्न हामी संयुक्त रूपमा सक्रिय भूमिका निर्वाह गर्न सकौं ।’
सीपीसीले रास्वपा सभापति रवि लामिछाने र भावी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रशंसा गरेको छ । उसले रास्वपाबाट पनि सहकार्यको अपेक्षा गरेको छ। ‘रास्वपाले चीनसँगको मैत्री सम्बन्धलाई निरन्तरता दिँदै परम्परागत मित्रतालाई अगाडि बढाउन तथा विभिन्न क्षेत्रमा आदानप्रदान र सहकार्यलाई गहिरो बनाउँछ भन्ने विश्वास लिएका छौं,’ शुभकामना सन्देशमा भनिएको छ ।
सीपीसीले नेपालसँग भएको बीआरआईलगायत महत्त्वपूर्ण सम्झौताहरू रास्वपाले कार्यान्वयन गर्नेमा पनि विश्वस्त देखिएको छ ।

उसले भनेको छ, ‘पहाड र नदीहरूले जोडिएका चीन र नेपालबीच दीर्घकालीन मित्रता छ। नयाँ परिस्थितिमा चीन नेपालसँग सहकार्य गर्दै राजनीतिक पारस्परिक विश्वासलाई अझ गहिरो बनाउन, बेल्ट एन्ड रोड सहकार्यलाई प्रवर्द्धन गर्न तत्पर छ ।’



















