काठमाडौं । गृह मन्त्रालयले इरानी नागरिकहरूलाई आगमन प्रवेशज्ञा (अनअराइभल भिसा) नदिने निर्णय गरेको छ । इरानी नागरिकलाई यसअघि दिँदै आएको अनअराइभल भिसा नदिने निर्णय गृह मन्त्रालयले गरेको छ ।
गृहमन्त्रीस्तरीय निर्णयले अब उपरान्त नेपाल आउने इरानी नागरिकले नेपाली दूतावासबाट भिसा लिनुपर्ने छ । इरानमा देखिएको तनावका कारण इरानी नागरिकहरू नेपाल आउने क्रम बढेपछि गृह मन्त्रालयले सुरक्षाको कारण देखाउँदै यस्तो निर्णय गरेको हो ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले इरानी नागरिकहरूलाई आगमन भिसा नदिने निर्णय भएको जानकारी दिए ।
गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयसँगको समन्वयमा सुरक्षालाई मध्यनजर गर्दै इरानी नागरिकलाई आगमन भिसा नदिने निर्णय गरेको हो ।
अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि मध्यपूर्वी क्षेत्रमा तनाव बढेको छ। अमेरिकी आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि तनाव झन् बढेको हो।
यसबीचमा अमेरिका र इजरायलले निरन्तर आक्रमण गरिरहेको छ। इरानले पनि मध्यपूर्वी क्षेत्रमा रहेको अमेरिकी बेसक्याम्पहरूमा आक्रमण जारी राखेको छ। अमेरिकी आक्रमणमा परी इरानमा हालसम्म १३ सय ४८ जना मारिएका छन् । मर्नेहरूमा भीभीआइपीदेखि सर्वसाधारणसमेत छन् ।




















