काठमाडौं । नेपाली कांग्रेस फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा गर्न चैतको पहिलो साताभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी गरेको छ।
पार्टीका प्रवक्ता देवराज चालिसेले निर्वाचन परिणामको समग्र समीक्षा गर्न बैठक बोलाउने तयारी भइरहेको बताएका छन् ।
२०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको कांग्रेस यसपटक दोस्रो स्थानमा झरेको छ । यसपटक संसद्मा इतिहासकै कमजोर प्रतिपक्षी बन्ने अवस्थामा पुगेपछि त्यसबारे विस्तृत छलफल गर्न बैठक बोलाउन लागिएको हो।
निर्वाचन परिणामअनुसार कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिट गरी जम्मा ३८ सिट मात्रै जितेको छ। पार्टीभित्र आगामी रणनीति, संगठन सुदृढीकरण तथा निर्वाचन परिणामको कारणबारे केन्द्रीय समितिमा विस्तृत समीक्षा हुने बताइएको छ ।




















