काठमाडौं । पूर्वप्रधामन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उनको दाहसंस्कारमा केपी शर्मा ओलीले दागवत्ति दिएका छन्।
मोहनप्रसादको आज भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।
अन्त्येष्टि अघि अस्पतालमा उनको पार्थिव शरीर राखेर श्रद्धाञ्जली अर्पण गरिएको थियो। श्रद्धाञ्जली दिन विभिन्न राजनीतिक दलका शीर्ष नेता, कार्यकर्ता, परिवारका सदस्य तथा आफन्तहरू पुगेका थिए।
मोहनप्रसाद गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आएका थिए। गएराति स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल पुर्याइएको थियो।
गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा झापास्थित उनको घरमा आगजनी भएको थियो। त्यसयता उनी झापा गएका थिएनन् भने त्यसअघि भने उनी झापास्थित घरमा आउजाउ गरिरहन्थे।
ओलीको अन्त्येष्ठिमा श्रद्धाञ्जली दिन विभिन्न राजनीतिक दलका शीर्ष नेता, सांसद, मन्त्री, कार्यकर्ता, आफन्तहरूलगायत हजारौ पुगेका छन् ।




















