कैलाली । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टी नीति र नेतृत्वसम्बन्धी बहस बाहिर सार्वजनिक रूपमा गर्नु उपयुक्त नहुने बताएका छन् । उनले प्रतिनिधिसभा निर्वाचनको समीक्षा पार्टी कमिटीभित्रै गरिने स्पष्ट पारेका छन् ।
बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै भट्टले नीति र नेतृत्वका विषयमा बहस हुनु स्वाभाविक भए पनि त्यसलाई पार्टीको आन्तरिक संरचनामार्फत उठाउनुपर्ने बताएका छन् । उनका अनुसार कमिटी प्रणालीभित्र धारणा राखेर नेतृत्व, नीति, विचार र सिद्धान्तबारे गहिरो समीक्षा गरिनेछ।
उनले पार्टी सचिवालय बैठकमा निर्वाचन परिणामबारे विस्तृत समीक्षा बताउँदै सामूहिक छलफलपछि मात्रै पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने जानकारी दिएका छन् ।
जनताले दिएको जनादेशलाई स्वीकार गर्दै पार्टी नयाँ ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै भट्टले पार्टीले गरेका काम जनतामाझ प्रभावकारी रूपमा लैजान नसकेको पनि स्वीकार गरे ।
उनका अनुसार भदौ २३ र २४ गते भएका घटनाबारे पनि जनतालाई पर्याप्त रूपमा बुझाउन सकिएन । ती घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा उनले जोड दिए ।
भट्टले पार्टीभित्र देखिएको आन्तरिक विग्रह, संगठन परिचालनमा कमजोरी तथा अनुशासनहीनताले पनि निर्वाचन परिणाममा असर परेको बताए। उनका अनुसार संगठनहरू सही ढंगले परिचालित हुन नसक्दा र आन्तरिक अनुशासन कमजोर हुँदा समस्या देखिएको हो।
त्यसैगरी केही गलत रिपोर्टिङका कारण पनि परिस्थिति प्रभावित भएको उनको भनाइ छ। विद्यालयका केही शिक्षकहरूले विद्यार्थीलाई चुनावी प्रचारमा प्रयोग गरेको विषयप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे।
कैलाली क्षेत्र नम्बर ४ बाट एमालेका उम्मेदवार रहेका भट्टले पराजित भएपनि आफूले विगतमा सुरु गरेका विकासका कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् । साथै आफूलाई विश्वास गरेर मत दिएका मतदाताप्रति आभार व्यक्त गरेका छन् ।




















