काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अन्तर्राष्ट्रिय बौद्धिक तथा वैज्ञानिक विमर्शमा सहभागी हुन भारत प्रस्थान गरेका छन्।
‘एनएक्सटी २०२६ ग्लोबल समिट’ नाम दिइएको उक्त कार्यक्रम नयाँ दिल्लीस्थित भारत मण्डपममा मार्च १२, १३ र १४ मा आयोजना हुनेछ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसमेत सहभागी हुने समिटमा डा. भट्टराई ‘गेस्ट अफ अनर’ अर्थात् विशेष अतिथिका रूपमा सहभागी हुनेछन्।
आयोजकका अनुसार समिटमा विश्वभरका नीति–निर्माता, सांसद, प्रविधि विज्ञ, व्यवसायी तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्। कार्यक्रममा विश्व शासन, प्रविधि, अर्थतन्त्र, शिक्षा, सुरक्षा, स्वास्थ्य, वातावरण तथा अन्तर्राष्ट्रिय सम्बन्धलगायत समसामयिक विषयमा छलफल गरिनेछ।
विभिन्न देशका सांसद, नीति–निर्माता, विज्ञ तथा युवा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहने यस सम्मेलनलाई समसामयिक वैश्विक बहस र सहकार्यको महत्वपूर्ण मञ्चका रूपमा लिइएको छ।
भट्टराईले चैत ३ गते ‘कृत्रिम बुद्धिमत्ता र डिजिटल शासनको युगमा लोकतन्त्र र युवा’ शीर्षकको सत्रलाई सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ। उनी सोही दिन स्वदेश फर्कने कार्यक्रम रहेको छ।




















