काठमाडौं । न्याय परिषद्ले भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका ६ न्यायाधीशको सूची संवैधानिक परिषद्को सचिवालयमा पठाएको छ । न्याय परिषद्ले योग्यता पुगेकालाई सिफारिस गर्दै मंगलबार परिषद्मा नाम पठाएको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण आउँदो चैत १८ गतेदेखि अवकाशमा जाँदै छन् ।
त्यसपछि रिक्त हुने प्रधानन्यायाधीश पदका लागि सर्वोच्चकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीश कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम पठाइएको छ ।
६ न्यायाधीशको नामसँगै वतन, योग्यता, कार्यकुशलता र अनुभव, नियुक्ति तथा अवकाशको मितिसहित आवश्यक ‘डकुमेन्ट’ समावेश गरेर ‘रोस्टर’ पठाइएकोे छ । वरिष्ठतम् न्यायाधीश नै प्रधानन्यायाधीश बन्ने अभ्यास छ । यसमा केही फेरबदल नभएमा वरिष्ठतम न्यायाधीश प्रधान नै प्रधानन्यायाधीश बन्नेछिन् । ०७३ साउन १६ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त मल्लले प्रधानन्यायाधीश नियुक्त भएमा ३ वर्ष नेतृत्व सम्हाल्नेछिन् । उनी प्रधानन्यायाधीश बन्दा सुशीला कार्कीपछि दोस्रो महिला प्रधानन्यायाधीश बन्नेछिन् ।
न्याय परिषद्ले रोस्टर पठाएपछि प्रधानमन्त्री नेतृत्वको संवैधानिक परिषद्ले बैठक बसेर भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेछ । त्यसपछि सिफारिस नाम संसदीय सुनुवाइका निम्ति संघीय संसद्मा पठाइनेछ । संसीय सुनुवाइ समितिले नाम अनुमोदन भएपछि मात्र राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।



















