काठमाडौँ . इरानले इजरायल र मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाविरुद्ध युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आक्रमण गरेको दाबी गरेको छ।
इरानका सरकारी सञ्चारमाध्यमका अनुसार इजरायल र मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको हो।
त्यस्तै, इरानले अमेरिकी प्रविधि कम्पनीहरूका कार्यालय र डेटा सेन्टरलाई पनि निशानामा पार्न सकिने चेतावनी दिएको बताइएको छ। सम्भावित लक्ष्यको सूचीमा गुगल, अमेजन, माइक्रोसफ्ट, एनभिडिया, आईबीएम र ओरेकलजस्ता कम्पनीहरू रहेको उल्लेख गरिएको छ।
इजरायल, दुबई र अबुधाबीमा रहेका ती कम्पनीका कार्यालय तथा डेटा सेन्टरहरू समेत सम्भावित निशानामा पर्न सक्ने बताइएको छ।
यद्यपि, इरानको आक्रमणबाट इजरायल र अमेरिकालाई कति क्षति पुगेको छ भन्नेबारे हालसम्म स्पष्ट विवरण सार्वजनिक भएको छैन।
यसैबीच, संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले आज इरानलाई बहराइन, कुवेत, ओमान, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई) र जोर्डनमा आक्रमण रोक्न आह्वान गर्ने प्रस्तावमा मतदान गर्ने कार्यक्रम रहेको जनाइएको छ।




















