आज बल्खु तरकारी बजारमा देखेको एउटा दृश्यले मेरो मन अत्यन्तै छोयो । त्यो घटनाले मलाई निकै भावुक बनायो, र त्यसैको प्रभावले केही शब्दहरू लेख्न बाध्य भएको छु ।
आज बिहान म मेरी श्रीमतीलाई कक्षा जानका लागि त्रिभुवन विश्वविद्यालय किर्तिपुर छोड्न गएको थिएँ। फर्किने क्रममा घरका लागि केही तरकारी र सामान किन्न भनेर बाल्खु तरकारी बजारतिर लागेँ । सायद घरका लागि त्यहाँ गएर आफैँले तरकारी किनेको मेरो पहिलो अनुभव नै थियो ।
म बजारमा पस्दै गर्दा विभिन्न पसलहरू हेर्दै राम्रा देखिएका तरकारीहरू किन्दै थिएँ। त्यही क्रममा मेरो ध्यान करिब ४०–४५ वर्ष जतिकी देखिने एक जना दिदीतिर गयो । उहाँको लवाइ–खवाइ हेर्दा उहाँ कुनै निम्न वर्गीय, अझ भन्नुपर्दा निकै साधारण आर्थिक अवस्थाबाट गुज्रिरहनुभएको नेपाली महिला जस्तो लाग्थ्यो । सुरुमा मलाई लाग्यो कि उहाँ पनि अन्य ग्राहकजस्तै तरकारी किन्न आउनुभएको होला, त्यसैले मैले खासै ध्यान दिइन । किनकि त्यहाँ धेरै मानिसहरूको भिड थियो ।
तर केही बेरपछि फर्किने क्रममा फेरि उहाँलाई देखेँ । उहाँको हातमा दुई वटा प्लास्टिकका झोला थिए— एउटा साधारण पोलिथिनको झोला र अर्को कपडा किन्दा दिने खालको प्लास्टिकको झोला । त्यसपछि मैले देखेको दृश्यले भने मलाई निकै भावुक बनायो ।
उहाँ बजारको भुइँमा खसेका तरकारीहरू—जसलाई मानिसहरूको आवतजावतको क्रममा खुट्टाले कुल्चिनबाट जोगिएका—त्यस्ता तरकारीहरू ध्यान दिएर हेर्दै टिप्दै झोलामा हालिरहनुभएको थियो ।
सुरुमा मलाई लाग्यो कि सायद उहाँको पनि त्यहीँ कतै पसल होला र आफ्नै पसल नजिक खसेका तरकारी टिपेर राखिरहनुभएको होला । तर मैले केही बेर नियालेर हेर्दा बुझ्न सकेँ—उहाँ हरेक पसलमुनि खसेका मटर, केराउ, सिमी, आधा फुटेका तरकारी जेजे भेटिन्छन्, ती सबै भुइँबाट टिप्दै झोलामा हाल्दै हुनुहुन्थ्यो ।

उहाँले त्यो आफ्नो लागि टिप्नुभएको हो वा अरू कारण थियो, मलाई थाहा भएन। एकछिन त मलाई सोध्ने मन लाग्यो—“दिदी, किन यसरी टिप्दै हुनुहुन्छ?” भनेर । तर फेरि सोचेँ, कतै उहाँको बाध्यता भएको अवस्थामा त्यसरी सोध्दा उहाँको भावनामा चोट पुग्ला कि, वा भावुक भएर मलाई केही भन्नु होला कि भन्ने डर पनि लाग्यो । त्यसैले म त्यहाँबाट निस्किएँ ।
तर बाटोभरि आउँदै गर्दा त्यो दृश्यले मलाई गहिरो सोचमा डुबायो। सायद उहाँले पनि यो चुनावमा भोट हाल्नुभएको होला । यदि हाल्नुभएको छैन भने पनि, पहिले–पहिलेका चुनावमा जितेर आएका नेताहरूबाट कुनै आशालाग्दो परिवर्तन नदेखेर निराश भएर होला ।
तर मलाई पक्का विश्वास छ—उहाँभित्र पनि एउटा नेपाली मन अवश्य छ । र सायद आर्थिक बाध्यता वा संकटका कारण उहाँले भुइँमा खसेका तरकारी टिपेर घर लैजानुपरेको होला, ताकि आफु र आफ्नो परिवारको पेट पाल्न सकियोस् ।
यदि उहाँको मनको चाहना सोध्ने हो भने, सायद उहाँले भन्नुहुन्थ्यो— “मलाई दुई छाक खान पुग्ने व्यवस्था भए पुग्थ्यो ।”
सरकारले रोजगारीको अवसर सिर्जना गरेर होस्, महँगी नियन्त्रण गरेर होस्, वा कुनै पनि माध्यमबाट उहाँजस्ता नागरिकको आर्थिक अवस्था सुधार गरेर होस्—यदि दुई छाक खान पुग्ने अवस्था सुनिश्चित गर्न सकियो भने त्यो नै उहाँका लागि सबैभन्दा ठूलो विकास हुनेछ ।
किनकि उहाँलाई महँगा घर, गाडी, चम्किला सडक, वा अग्ला भवनहरूको कुनै आवश्यकता नहुन सक्छ। उहाँका लागि त केवल आफ्नो र आफ्नो परिवारको पेट भर्ने व्यवस्था नै संसारकै सबैभन्दा ठूलो सम्पन्नता जस्तो लाग्दो होला ।
यसैले म हिजोका सरकारमा पुगेका नेताहरूलाई पनि प्रश्न गर्न चाहन्छु, र आज नयाँ आशा बोकेर सदनमा पुगेका नयाँ नेतृत्वलाई पनि विनम्र अनुरोध गर्न चाहन्छु—
यदि तपाईंहरूले नेपाली जनताको एक–एक मतको साँचो अर्थमा सम्मान गर्नुहुन्छ भने, कृपया हरेक नेपाली नागरिकको गास, बास र कपास सुनिश्चित हुने नीति र कार्यहरूमा आफ्नो ध्यान केन्द्रित गर्नुहोस् ।
यदि तपाईंहरूले निमुखा वर्गका नेपालीहरूको आर्थिक अवस्थामा सुधार ल्याउन सफल हुनुभयो भने, सायद आज मैले देखेको त्यो दिदीका लागि त्यही नै वास्तविक विकास हुनेछ ।
समाजमा मानिसबीचको आर्थिक अन्तर सधैँ रहन्छ । त्यो पूर्ण रूपमा हटाउनु संसारका विकसित राष्ट्रहरूले पनि सकेका छैनन्। त्यसैले असम्भव लक्ष्यभन्दा पनि सम्भव र व्यवहारिक कामहरूको अपेक्षा नेपाली जनताले तपाईंहरूबाट गरेका छन् ।
म पनि एक मतदाता भएर आशा र विश्वासका साथ यसपटकको चुनावमा मत दिएको छु । त्यसैले कृपया नेपाली जनताबीच गास, बास र कपास को अधिकार सुनिश्चित गरिदिनुहोस्। यदि “Nation First” भन्ने सिद्धान्त हरेक नेपालीको मन र आत्मासम्म पुर्याउन सकियो भने, देश आफैँ समृद्धितर्फ अघि बढ्नेछ ।
अन्त्यमा, यो मैले आफ्नै आँखाले देखेको वास्तविक घटना हो । जनताको यस्तो दुःख र वाध्यताको अन्त्य चाँडै होस्, अब बन्न लागेको दुई तिहाईको शक्तिशाली सरकारको ध्यान सवैभन्दा पहिला भुइँमान्छेमा पुगोस् ।




















