काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले मध्यपूर्व क्षेत्रमा रहेका लाखौं नेपाली नागरिकको सम्भावित उद्धारका लागि राष्ट्रिय स्तरमै समन्वित योजना आवश्यक रहेको बताएका छन् ।
इजरायल–अमेरिका र इरानबीच जारी युद्धको अवस्थालाई ध्यानमा राख्दै उनले यस्तो तयारी गर्नुपर्ने बताएका हुन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले आवश्यक परे ठूलो संख्यामा नेपाली नागरिकलाई स्वदेश फर्काउनुपर्ने अवस्था आउन सक्ने बताए।
उनका अनुसार औपचारिक रूपमा करिब १९–२० लाख र अनौपचारिक रूपमा २५–३० लाखसम्म नेपाली नागरिकलाई नेपाल फर्काउनुपर्ने अवस्था आउन सक्छ। यस्तो परिस्थितिका लागि राष्ट्रिय स्तरमै स्पष्ट योजना तयार हुनुपर्ने उनले उल्लेख गरे।
मन्त्री शर्माले परराष्ट्र मन्त्रालयले सम्भावित उद्धार कार्यलाई लक्षित गर्दै पूर्वाधार निर्माणको काम सुरु गरिसकेको पनि जानकारी दिए। मन्त्रालयको अगुवाइमा ‘सिचुएसन सेन्टर’ स्थापना गरिएको उनले बताए।
उनका अनुसार उक्त सिचुएसन सेन्टरले नियमित रूपमा विभिन्न देशमा रहेका नेपालीको अवस्थाबारे अपडेट लिने, आवश्यक सम्पर्क स्थापना गर्ने तथा सम्भावित उद्धार कार्यका लागि आधार तयार गर्ने काम गरिरहेको छ।
मन्त्री शर्माले यस्तो संयन्त्रले निरन्तरता पाए भविष्यमा कुनै आपतकालीन अवस्थामा नेपाली नागरिकको उद्धार कार्यलाई सहज बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।




















