काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शना प्रतिनिधि सभा सदस्यमा काठमाडौँ क्षेत्र नम्बर १ बाट विजयी भएकी छिन् । उनको विजयसँगै रास्वपाले विजयको खाता खोलेको छ ।
दर्शनाले १५ हजार ४५४ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत मात्र पाएका छन् ।
राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गरेका छन् ।
३० वर्षे दर्शना २१ वर्षको उमेरमै २०७४ सालमा स्थानीय तहको निर्वाचन हुँदा काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लडेर चर्चामा आएकी थिइन् । उक्त निर्वाचनमा उनले २३ हजार ४३९ मत प्राप्त गरेर तेस्रो भएकी थिइन् । त्यसबेला काठमाडौं महानगरको मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्य विजयी भएका थिए ।
वैकल्पिक राजनीतिको वकालत गर्दै १७ वर्षको उमेरमै २०७० सालमा विवेकशील नेपाली पार्टीमा आवद्ध भएर राजनीतिमा जोडिएकी थिइन् ।
२०७८ सालमा विवेकशीलमा आन्तरिक कलह चुलिए पछि रञ्जुले पार्टीबाट राजीनामा दिएर स्वतन्त्र बसेकी थिइन । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ बाट ‘सेलरोटी’ चुनाव चिह्नसहित स्वतन्त्र उम्मेदवार बनेकी थिइन् । त्यसबेला उनले जम्मा ६०० मत मात्र पाएकी थिइन् ।
२०८१ सालमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिन् र पार्टीको केन्द्रीय सदस्य बनेकी थिइन् । स्नातक तहसम्मको अध्ययन गरेकी दर्शनाले १० दिनअघि मात्र पुत्र लाभ गरेकी थिइन् । दर्शना वच्चा बोकेरै मतदानमा सहभागी भएकी थिइन् ।




















