काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मुस्ताङबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन्। उनले ३ हजार ३०७ मत प्राप्त गर्दै आफ्नो जित सुनिश्चित गरेका हुन्।
मतगणना सम्पन्न भइसकेको भए पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने औपचारिक घोषणा गर्न बाँकी रहेको जनाएको छ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले १ हजार ८०६ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अधितीय चन्द्र थकालीले ७५९ मत ल्याएका छन्।
त्यस्तै, राप्रपाका कमला लालचनले १६१ मत र नेकपाका ङुटुक गुरुङले १५१ मत प्राप्त गरेका छन्। योगेश गौचन थकाली २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए।
कुल ११ हजार ३२८ मतदाता रहेको मुस्ताङमा ६ हजार ३८८ मत खसेको थियो। जसमध्ये १०७ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।




















