काठमाडौं । स्याङ्जा, धनुषा र दोलखा जिल्लामा मतदानका क्रममा उत्पन्न भएको विवाद अझै टुंगिएको छैन। विवाद भएका क्षेत्रका निर्वाचन अधिकृतहरू निर्वाचन आयोगको निर्णयको प्रतीक्षामा बसेका छन्।
निर्वाचन आयोगले भने यस विषयमा छिट्टै निर्णय गर्ने जनाएको छ। आयोगको उच्च स्रोतका अनुसार विवादबारे छलफल गर्न केहीबेरमै आयोगको बैठक बस्ने र त्यसपछि आवश्यक निर्णय सार्वजनिक गरिनेछ।
धनुषा क्षेत्र नम्बर १ का लागि निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गर्दै मतगणनासम्बन्धी स्पष्ट निर्देशन माग गर्दै आयोगसँग पत्राचार गरिएको जनाएको छ ।
आयोगबाट निर्देशन प्राप्त भएपछि मात्र मतगणना कार्य सुरु गरिने जनाइएको छ। उम्मेदवारी रद्द भएका रास्वपाका उम्मेदवार किशोरी साह (कमल)को मत गणना गर्नुपर्ने भन्दै समर्थकको नाराबाजी गरेका छन् ।
दोलखाको मालु क्षेत्रमा मतदानका क्रममा विवाद भएपछि केही समयका लागि मतदान स्थगित गरिएको थियो। पछि माइकिङमार्फत मतदातालाई पुनः मतदानका लागि बोलाइएको थियो। उक्त विषयमा राजनीतिक दलहरूले पनि निर्वाचन आयोगले निष्पक्ष र उचित निर्णय गर्नुपर्ने माग गरेका छन्।
दोलखा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट जगदीश खरेल, नेपाली कांग्रेसबाट अजयबाबु शिवाकोटी, नेकपा एमालेबाट पार्वत गुरुङ, नेपाली कम्युनिस्ट पार्टीबाट विशाल खड्का तथा राप्रपाबाट प्रवीणकुमार थोकर तामाङलगायत उम्मेदवार प्रतिस्पर्धामा छन्।




















