काठमाडौँ । आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। देशका १६५ वटै निर्वाचन क्षेत्रमा एकसाथ मतदान हुने भएकाले सम्बन्धित जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी, मतदान केन्द्र व्यवस्थापन र कर्मचारी परिचालन गरिएको छ।
सो क्रममा मनाङको चामे गाउँपालिका-३ कोतोबाट सुरक्षाकर्मी र कर्मचारीहरू मतपेटिका बोकेर नार्पाभूमितर्फका दुर्गम मतदान केन्द्र जाँदै गरेका दृश्यहरू देखिएका छन्।
त्यस्तै, जिल्ला निर्वाचन कार्यालय पाँचथरबाट कर्मचारीहरूले मतदान सामग्री बुझेर सम्बन्धित केन्द्रतर्फ प्रस्थान गरेका छन्। सुनसरीको इनरुवास्थित भगवती माध्यमिक विद्यालयबाट निर्वाचन क्षेत्र नम्बर २ र ४ का विभिन्न मतदान केन्द्रका लागि सामग्री वितरण गरिएको छ।
हुम्लाको नाम्खा गाउँपालिकाअन्तर्गतका चार मतदान केन्द्रमा सडक अवरुद्ध भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत निर्वाचन सामग्री, कर्मचारी र सुरक्षाकर्मी ओसारिएको छ। दुर्गमता र मौसमका कारण कठिनाइ भए पनि समयमै सामग्री पुर्याउन विशेष व्यवस्था गरिएको जनाइएको छ।
यस्तै, महेन्द्रनगरस्थित निर्वाचन कार्यालयबाट पनि मतदान केन्द्रहरूमा आवश्यक सामग्री पठाइएको छ भने दार्चुलामा कर्मचारीहरूले निर्वाचन सरसामग्री केन्द्रतर्फ लगिरहेका छन्। रूपन्देही क्षेत्र नम्बर २, बुटवलको देवीनगरमा रहेको प्रतिनिधिसभा सदस्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिकालगायत सामग्री आइपुगेको छ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत इनरुवा नगरपालिका-९ स्थित शैक्षिक तालिम केन्द्रमा मतगणनास्थल व्यवस्थापनको काम पनि अघि बढाइएको छ।
निर्वाचन आयोगका अनुसार मतदान शान्तिपूर्ण र व्यवस्थित बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा गर्ने काम भइरहेको छ । (रासस)




















