काठमाडौं । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधि सोमबार राति १२ बजेबाट लागु हुँदैछ । मौन अवधि शुरु भएपछि राजनीतिक दलहरुले चुनाव प्रचार–प्रसारको काम गर्न पाउँदैनन् ।
मतदान हुने दिनको अघिल्लो ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान सकिएर मतदान केन्द्र बन्द नभएसम्म आयोगबाट प्रचारप्रसार निषेध अवधि तोकिएकाले आज राति १२ बजेपछि निर्वाचनका प्रचारप्रसार गरी मत माग्न नपाइने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । प्रचारप्रसार निषेध अवधिमा उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने विशेष आचरण निर्वाचन आचारसंहिता, २०८२ मा उल्लेख छ ।
दलहरुले यही फागुन ४ गतेदेखि प्रचारप्रसारको काम गर्दै आफ्ना उम्मेदवारका लागि मत माग्दै आएका थिए । यो क्रम आज राति १२ बजेदेखि सकिँदैछ । त्यसपछि मतदाताले आफ्नो विवेकको निर्णय आफ्नै अन्तरआत्माले स्वतन्त्रतापूर्वक गर्ने अवसरका निम्ति शान्ति वा निषेध अवधि अनिवार्य हुने र यसले स्वच्छ प्रतिष्पर्धालाई प्रवद्र्धन गर्न मद्दत पुर्याउने विश्वास गरिएको छ । दलले प्रचारप्रसार गर्ने अन्तिम दिन आज हिमाली र पहाडी जिल्लामा फागु पूर्णिमा पर्व परेकाले पर्वसँगै निर्वाचन प्रचारप्रसार भइरहेको छ । निर्वाचनमा भाग लिएका दल र उम्मेदवार आज प्रचारप्रसारमा छन् ।
राति १२ बजेदेखि सुरु हुने प्रचारप्रसार निषेध अवधिमा कुनै प्रचारप्रसारका काम पूर्ण निषेध गरिएको छ । यस अवधिमा राजनीतिक विज्ञापन, सामाजिक सञ्जालमा प्रचारप्रसार, कुनै किसिमको सन्देश सम्प्रेषणलगायत निर्वाचन प्रचारसँग सम्बन्धित कार्य गर्न निषेध गरिएको छ । मतदान हुने दिनको ४८ घण्टाअघि अर्थात् आज राति १२ बजे मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउनुपर्ने व्यवस्था पनि गरिएको छ ।
यस्तै सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि विद्युतीय माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोष्ट वा शेयर गर्न वा गराउन निषेध गरिएको छ । मतदान कार्य प्रारम्भ हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म कसैले पनि मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्ति वा कर्मचारीलाई बाधा पुर्याउने कार्य गर्न नहुने पनि निर्वाचन आचारसंहिता, २०८२ मा उल्लेख छ ।
आचारसंहिताको इमान्दारीपूर्वक पालना र कार्यान्वयनले सजग मतदाता तयार पार्न र निर्वाचनको निष्ठा प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास गरिएको सहायक प्रवक्ता जिसीले बताएका छन् । संविधानले प्रदान गरेको अधिकारअनुसार निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन, नियन्त्रण, समन्वय तथा सम्पूर्ण व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।
नगद वा जिन्सी वितरण गरे के हुन्छ कारबाही ?
चुनाव प्रभावित पार्ने उदेश्यले नगद वा जिन्सी लेनदेन गर्न हुँदैन । यस्तो गर्नेलाई १ वर्ष कैद, ५० हजार जरिवाना वा दुवै सजाय हुन सक्ने निर्वाचन आयोगले जनाएको छ । उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभित्र कुनै मतदातालाई उसको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि दबाब दिन हुँदैन ।
मतदानको अधिकार प्रयोग गरे वा नगरे बापत उपहार, पुरस्कार, इनाम, दानदातव्य दिन पाइँदैन । बकसको रुपमा नगद वा जिन्सी दिन, सार्वजनिक भोज आयोजना गर्न पनि पाइँदैन । मतदाताले पनि त्यस्तो प्रयोजनको लागि त्यस्तो नगद वा जिन्सी लिन वा लिन मञ्जुर गर्न हुँदैन । चुनाव प्रभावित पार्ने उदेश्यले आयोजना गरिएको सार्वजनिक भोजमा मतदाता पनि सहभागी हुन हुँदैन । यस्तो कार्य गरेको पाइएको खण्डमा १ वर्ष कैद, ५० हजार जरिवाना वा दुवै सजाय हुन सक्ने आयोगले जनाएको छ ।
सकियो निर्वाचन पूर्व तयारीका काम
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचनको व्यवस्थापन र कर्मचारी खटाउने सबै काम सकिएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि निर्वाचनको व्यवस्थापन र कर्मचारी खटाउने सबै काम सकिएको जनाएका छन् । उनका अनुसार मतदान अधिकृतहरु मतदान केन्द्र र स्थलमा गइसकेका छन् । मतदानको प्रक्रियाका लागि आवश्यक सामग्रीहरू पनि पुगिसकेका छन् ।
आचारसंहिता कार्यान्वयनमा कडाइ
निर्वाचन आयोगले आज रातिबाट सुरु हुने मौन अवधि र मतदानको दिनसम्मको आचारसंहिता कार्यान्वयनलाई प्रभावकारी बनाउन निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरूलाई निर्देशन दिएको छ ।
आयोगले विज्ञप्ति निकालेर यसबारे जानकारी दिएको हो । प्रचारप्रसार निषेध अवधिमा सभा, सम्मेलन, अन्तरक्रिया निषेध गरिएको छ । कुनै पनि माध्यम वा तरिकाबाट गरिने निर्वाचन प्रचारलाई समेत सो अवधिमा निषेध गरिएको छ । सञ्चार माध्यहरूले समेत कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था आचारसंहिताले गरेको छ ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मौन अवधि मतदाताले अन्तरआत्माले स्वतन्त्रतापूर्वक निर्णय गर्ने अवसर भएको बताएका छन् । राजनीतिक दल तथा उम्मेदवारको दबाबबाट मुक्त भई मतदाताले आफ्नो विवेकको निर्णय आफ्नै अन्तरआत्माले स्वतन्त्रतापूर्वक गर्ने अवसरको निम्ति प्रचारप्रसार निषेध वा मौन अवधि तोक्ने गरिएको उनले बताए । यसले स्वच्छ प्रतिष्पर्धालाई प्रवर्द्धन गर्ने उनको विश्वास छ ।
निर्वाचन प्रचार अभियानलाई केवल विजयी हुने साधनका रूपमा मात्र नलिई आम मतदाताको मन जित्ने संस्कारयुक्त प्रक्रियामा परिणत गर्नुपर्ने कार्यवाहक प्रमुख आयुक्त भण्डारीको भनाइ छ । यही मान्यताअनुसार मतदाताहरूले शान्त वातावरणमा बसेर उपयुक्त उम्मेदवार चयन गरुन् भन्ने मनशायमा विश्वव्यापी रूपमा नै मतदान अघिको केही समयलाई प्रचारप्रसार निषेध गर्ने प्रचलन रहेको उनले बताएका छन् ।




















