काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब मतदाताले देश बनाउने पार्टी कि भत्काउने भन्नेमा स्पष्ट निर्णय गर्नुपर्ने समय आएको बताएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले प्रतिनिधिसभा निर्वाचनको सन्दर्भ उल्लेख गर्दै मतदातालाई सोचविचार गरेर मतदान गर्न आग्रह गरेका हुन्। “आज मतदाताले ठन्डा दिमागले सोचेर एउटा प्रश्नको जवाफ दिनुपर्ने बेला आएको छ– यो देश हामीले बचाउने कि नबचाउने?” उनले भनेका छन्।
ओलीले विगतमा निर्वाचित सरकार अपदस्त गराइएको र प्रतिनिधिसभा विघटन गरिएको घटनाको स्मरण गर्दै अहिले फेरि त्यही प्रतिनिधिसभाका लागि निर्वाचन भइरहेको बताए। “एउटा निर्वाचित सरकारलाई अपदस्त गराइयो र देशमा विध्वंश मच्चाइयो। आज फेरि त्यही प्रतिनिधिसभाका लागि चुनाव हुँदैछ,” उनले भने।
मतदातालाई सम्बोधन गर्दै उनले निर्माण र ध्वंशमध्ये एक बाटो रोज्नुपर्ने उल्लेख गरे। “आज तपाईंले बनाउने बाटो रोज्ने कि भत्काउने बाटो रोज्ने भन्ने निर्णय गर्नुपर्नेछ,” ओलीले भनेका छन्, “मप्रति गुनासा र प्रश्न हुन सक्छन्, मेरा कमजोरी पनि होलान्। तर राष्ट्रियता, स्वाभिमान र अखण्डताको सवालमा मैले कहिल्यै सम्झौता गरेको छैन।”
ओलीले अब स्पष्ट कित्ता छुट्याउने बेला आएको बताउँदै राष्ट्र जोगाउने पक्षमा उभिने कि राष्ट्रको भविष्यप्रति उदासीन रहने पक्षमा भन्ने विषयमा मतदाताले आफूलाई प्रस्ट पार्नुपर्ने धारणा राखे। “यदि आज बोल्नुभएन भने भोलि आफैंले आफैंलाई माफ गर्न सक्नुहुने छैन,” उनले चेतावनी शैलीमा भने।
आफू जीवनको उत्तरार्धतर्फ उन्मुख भएको उल्लेख गर्दै ओलीले भावी पुस्ताका लागि संघर्ष गरिरहेको बताए। “मभन्दा बढी बाँच्ने दिन बाँकी रहेका पुस्ताका लागि लड्दै छु, त्यसैले मैले सधैं ‘देश पहिला’ भनेको हुँ,” उनले भने, “अब तपाईंले पनि ‘देश पहिला’ भन्ने दिन आएको छ।” अध्यक्ष ओलीले देश बनाउने पार्टी नेकपा एमाले भएकाले सूर्य चिन्हमा मतदान गर्न आम मतदातालाई अपिल गरेका छन् ।




















