काठमाडौं । नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार शंकर पोखरेलले चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्रीलाई केवल सञ्चार सामग्री मात्र नभई भूराजनीतिक चलखेलको जिउँदो प्रमाण भएको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य हुने बताएका छन्। चुनावजस्तो संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग मात्र हो कि नियोजित हस्तक्षेप हो भन्ने प्रश्न उठाउनु आवश्यक रहेको उनको भनाइ छ।
पोखरेलले लोकतन्त्रको रक्षा नेपाली जनताले आफैं गर्नुपर्ने उल्लेख गर्दै नेपालको सार्वभौमिकता साझा जिम्मेवारी भएको बताएका छन्। साथै, सूचना स्वतन्त्र हुनुपर्ने भए पनि त्यसको समय, सन्दर्भ र उद्देश्य पारदर्शी हुनुपर्नेमा उनले जोड दिएका छन्।
उनले भूराजनीतिक दबाब र प्रोपागान्डाको खेलमा नेपाललाई प्रयोग हुन नदिन सबै सचेत हुनुपर्ने बताए। तथ्य जाँच गर्न, सचेत बन्न र राष्ट्रिय हितको पक्षमा उभिन उनले आम नागरिकलाई आग्रह गरेका छन्।




















