काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले फागू पूर्णिमा (होली) पर्व मर्यादित, अनुशासित र सुरक्षित रूपमा मनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
निर्वाचनको आचारसंहिता र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यस वर्ष होलीमा कडा प्रतिबन्ध लागू गरिएको प्रशासनले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा हस्ताक्षरित सूचनाअनुसार सार्वजनिक स्थानमा होहल्ला, झै–झगडा तथा मादक पदार्थ सेवन गरी सार्वजनिक मर्यादा भंग गर्ने कार्य नगर्न चेतावनी दिइएको छ।
कसैको इच्छाविपरीत रंग दल्ने, लोला हान्ने, पानीको फोहोरा फाल्ने तथा जबर्जस्ती गर्ने कार्य गरे कानुनी कारबाही हुने स्पष्ट पारिएको छ।
निर्वाचनको समयसँग होली पर्व जुधेकाले आचारसंहिता पालना अनिवार्य रहेको प्रशासनको भनाइ छ। यसअन्तर्गत कुनै पनि राजनीतिक दल वा उम्मेदवारको चुनावी चिह्न, तस्बिर अंकित टिसर्ट, टोपी, गम्छा, ब्याज, मास्क वा लकेट प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।
प्रशासनले होली आफ्नै घरको कम्पाउण्डभित्र परिवार र आफन्तसँग मात्र मनाउन आग्रह गरेको छ। खुला सडक तथा सार्वजनिक स्थानमा भेला भएर भिडभाड गर्न, मेला–महोत्सव आयोजना गर्न, मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न तथा मादक पदार्थको बिक्री, वितरण र सेवनमा समेत रोक लगाइएको छ।





















